प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

स्वतन्त्र राष्ट्रिय अभियान नेपालका लागि नेपाली अभियानवीचको भ्रमबारे प्रष्टीकरण

मिति÷२०७५÷०७÷१९

आदरणीय पत्रकार मित्रहरु,

तथा सम्पूर्ण सही परिवर्तनका पक्षधर जनसमुदाय !

नेपालमा हालसम्म भएका कुनै पनि राजनीतिक परिवर्तनबाट समेत जनताको दयनीय अवस्था परिवर्तन हुन नसक्नु, भ्रष्टाचार अझ बढ्नु र विदेशीहरुको हातमा नेपालको सम्पूर्ण अवयवहरु नियन्त्रित हुन पुग्नुमा राजनीतिक दल, नेताहरु तिनले आफैँ ल्याएर ढलाएका व्यवस्थाहरु जति जिम्मेवार छन् त्यत्तिकै जिम्मेवार यहाँको नागरिक समाज भनिएका राजनीतिक दलका भ्रातृ संस्थाहरु र नागरिक समाजका अगुवा भनिएका व्यक्तिहरु पनि छन् । त्यसैले त्यस्ता राजनीतिक दलका भारी बोक्ने एनजिओ÷आइएनजिओ सबै अन्त्य गर्नु पर्ने विचार यस स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले राख्दै आएको छ । दलमा रहुञ्जेल नेता दल छोडेपछि मानवाधिकारवादी र नागरिक समाजको अगुवा हुने र नागरिक समाजको अगुवा हुँदै दलको नेता हुने शृङ्खला पनि पूरानै हो । नेपालमा जतिसुकै व्यवस्था परिवर्तन भए पनि नेता पुरानै रहनुको मुख्य जिम्मेवारी हालसम्मका नागरिक समाजले पनि लिनुपर्छ । यसका विरुद्ध यस स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हालसम्मका सबै राजनीतिक दललाई फरक फरक नामका एउटै राजनीतिक दल भनेको छ जहाँ भ्रष्टाचारको मुख्य कारण सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था नहुनु हो । त्यसैका कारण चुनाव खर्चिलो हुने र सांसदहरु मन्त्री प्रधानमन्त्री बनेपछि चुनावमा भएको खर्च अशुल उपर गर्ने व्यवस्था रहिरहनु हो । सांसदको होइन जनताको मत मध्ये ५१ प्रतिशत मत जसले प्राप्त गर्छ उसैले मात्र सरकार बनाउन पाउने व्यवस्था नआउनु हो । र, पार्टीले खराब व्यक्तिलाई उम्मेद्वार बनायो भने जनताले बहिष्कार गर्न पाउने अधिकार राइट टु रिजेक्ट नहुनु हो । यस स्वतन्त्र राष्ट्रिय अभियान, नेपालमा संलग्न व्यक्तिहरु नेपालमा पहिलो संविधान सभाको निर्वाचन पूर्वदेखि नै यही विचार र पूरानो बहुदलीय व्यवस्था होइन कि दुई दलीय व्यवस्था हुनुपर्छ भन्ने विचार राख्दै आएर अदालती रिटहरु, सामाजिक चेतनाका अभियानहरु समेत सञ्चालन गर्दै आइरहेको सर्वविदितै छ ।

 

हामीले यसै विचारलाई जनता वीच राख्न आफैँ ग्यास, चामल, चुल्हो बोकेर आफ्नो खाना सडकमै पकाएर खाँदै, सडकछेउ टेन्ट टाँगेर सुत्दै पहिलो चरणको मेचीमहाकाली यात्रा सम्पन्न गरिसकेका छौँ । सो क्रममा हामीले बलात्कार विरुद्ध चेलीबेटीहरुलाई हामी पुगेका सबै जिल्लामा प्रशिक्षण प्रदान गरेका छौँ । हामीले मुख्य रुपमा नेपालमा हालसम्मका बाँचेजति सबै नेताहरुको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने, संघीयताको दोस्रो तह खारेज गरिनु पर्ने, जिल्लालाई बलियो बनाउनु पर्ने लगायतका मागहरु राखेका छौँ । तर, सो मध्ये पहिलो मागसँग मिल्ने गरी नेपालका लागि नेपाली अभियान शुरु भएकोमा धेरै जिल्लाहरुबाट स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका सहकर्मी साथीहरु वीच भ्रम सिर्जना भएको, धेरै पत्रकारहरु समेतबाट प्रश्नहरु दिनहुँ नै ठूलो संख्यामा इमेल, म्यासेज र फोनमा समेत फरक फरक अभियान हो कि एउटै हो < एउटै हो भन्ने ठानेर हामीले नेपालका लागि नेपाली अभियानको समितिमै रहने गरी सहमति जनायौँ भन्ने प्रश्नहरु गरेपछि सञ्चारकर्मी र सबैमा प्रष्टीकरणका लागि यो विज्ञप्ती जारी गरिएको छ ।

 

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले पत्रकार सम्मेलन मार्फत आफ्ना विचारहरु सार्वजनिक गरी मेचीमहाकाली यात्राको प्रथम चरण समेत सम्पन्न गरिसकेपछि नेपालका लागि नेपाली अभियान घोषणा हुँदा स्रोत नखुलेको राष्ट्रिय सम्पत्ति राष्ट्रियकरण गरिनु पर्ने लगायतका केही मागहरु मिल्न जानु खुसीकै कुरा हो । तर, सो अभियनमा हालसम्म असफल भएका व्यवस्थाहरुको पक्षमा रहेका व्यक्तिहरु नै रहेको, हालसम्मको व्यवस्थाबाट प्रशस्त लाभ लिइसकेका केही बाहेक अधिकांश व्यक्तिहरुकै नेतृत्व भएको र फेरि पनि अर्को रुपमा यही हालसम्म असफल भइसकेका व्यवस्थाहरुभित्रै खेलेर फाइदा लिने खेल प्रष्ट रहेकोले यस स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको सो नेपालका लागि नेपाली अभियानसँग मिलेको माग बाहेक कुनै पनि सहकार्य, सम्बन्ध र संगठनात्मक ऐक्यता नरहेको जानकारी गराउँछौँ ।

 

हामीले अभियान शुरु गरिसकेपछि उहाँहरुले पनि अभियान थाल्नुभएकोमा सो विषयमा सँगसँगै एकै अभियानबाट अघि बढ्न सक्ने सम्भावनाको बारेमा छलफल नचलाएका होइनाँै, तर सांसदहरुको चलखेलबाट सरकार बन्ने र ढल्ने, सांसदहरु मन्त्री प्रधानमन्त्री रहने, बर्तमान स्वरुपको संघीयता खारेज हुनु पर्ने र भ्रष्टाचारको मूल कारण नै खराब शासकीय स्वरुपको निर्वाचन प्रणाली भएकोले सोही मार्फत विदेशीहरुले नेपालमा आफ्नो पकड जमाउने भएकोले यो शासकीय स्वरुप नै परिवर्तन गरी सांसदको होइन जनताको बहुमतको सोझै सरकार बन्नु पर्ने व्यवस्था हुनु पर्ने, सांसद पद खरिदबिक्री गर्ने अवैज्ञानिक समानुपातिक प्रणाली खारेज गर्नुपर्ने, दुई दलीय व्यवस्था लागू हुनु पर्ने हालसम्म असफल भएका व्यवस्थाको पक्षमा रहेका व्यक्तिहरु कसैलाई पनि अभियानमा सामेल गराउन नहुने स्वतन्त्र राष्ट्रिय अभियानको विचारमा उहाँहरुको सहमति नजुटेपछि स्वतन्त्र राष्ट्रिय अभियानले हालसम्मका सबै दलहरुलाई फरकफरक नामको एउटै दल हो भन्ने निष्कर्श सरह सो लगायत अन्य अभियानहरुलाई पनि हालसम्म असफल भएका व्यवस्थालाई अर्को नाममा पुनर्जागृत गराउने प्रयत्न मात्र हो भन्ने ठहरका साथ यस सम्बन्धमा प्रष्ट हुनका  लागि यो विज्ञप्ती जारी गरिएको हो ।

 

पुनः सबैमा हालसम्मको स्रोत नखुलेको सबैको सम्पत्ति राष्ट्रियकरण गर्न, सांसदहरु मन्त्री प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू गर्न, दलहरुले खराब उम्मेदवार उठाउँदा तिनलाई बहिष्कार गर्न पाउने राइट टु रिजेक्ट लागू गराउन, संघीयताको बर्तमान स्वरुप खारेज गर्न, पूर्ण धार्मिक स्वतन्त्रता सहित सबै नेपाली भाषा, धर्म, साहित्य, कला संस्कृतिको संरक्षण गर्न र हालसम्म कुनै पनि व्यवस्थाको पक्षमा नरहेका साँच्चैका स्वतन्त्र नागरिकहरुको आफ्नो नेतृत्वमा साँच्चैको परिबर्तनका लागि जुट्न आग्रह गर्दै कुनै पनि भ्रम बिना स्वतन्त्र राष्ट्रिय अभियानमा एकताबद्ध हुन आग्रह गर्दछौँ ।

 

स्वागत नेपाल

संयोजक

स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल